संगालोखबर संवाददाता

विराटनगर, ४ मङ्सिर । विराट होलिडेजले विराटनगरबाट यही मङ्सिर ८ गतेदेखि दृश्यावलोकनका लागि हिमाली उडान शुरु गर्ने भएको छ ।

Advertisement

होलिडेजले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको सिक्किम, पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेश तथा बङ्गलादेशी पर्यटकको यस क्षेत्रमा बसाइ लम्ब्याउने उद्देश्यले उक्त दृश्यावलोकन सेवा सञ्चालन गर्न लागिएको जनाइएको छ ।

होलिडेजका अध्यक्ष भविष श्रेष्ठका अनुसार यति एयरलाइन्सको विमान भाडामा लिई प्रत्येक शनिबार बिहान हुने हिमाली उडानमा पर्यटकले कञ्चनजङ्घा, मकालु, सगरमाथा, ल्होत्से र गौरीशङ्कर हिमालको नजीकबाट अवलोकन गर्न सक्नेछन् ।

यहाँका सात ट्राभल्स एजेन्सीले संयुक्त रुपमा सञ्चालन गर्ने उक्त उडान ५५ मिनेटको हुनाका साथै नेपाली तथा सार्क मुलुकका पर्यटकले रु नौ हजार ९०० भुक्तानी गर्नुपर्नेछ । प्रदेश नं १ मा रहेका धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पर्यटकलाई विशेष प्याकेजको सुविधासहित आगामी दिनमा कार्यक्रम ल्याइने उनले बताए ।

भारतका विभिन्न प्रदेशमा करोर्डाँ जनताको बसोबास रहेकाले यस क्षेत्रका पर्यटकीय क्षेत्रलाई व्राण्डिङका रुपमा बिक्री गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रदेश नं १ को सरकार, सङ्घीय सांसद, प्रदेश सदस्य, स्थानीय सरकार, उद्योगी, व्यापारी र सङ्घसंस्थाहरुलाई उक्त हिमाली उडान सेवा दिगो बनाउन सहयोगका लागिसमेत आग्रह गरिएको छ ।

सो प्रदेशमा हाल १४ वटा विमानस्थल रहेकामा विराटनगरबाट–तुम्लिङटारमा हवाई सेवा सञ्चालन भइरहेको छ । नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाए विराटनगरबाट फाप्लु दैनिक पाँच वटा उडान सञ्चालन गर्न सकिने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement